बन्धक बनाई ७ लाख फिरौती माग गरेको आरोपमा ६ जना पक्राउ

दाङमा एक पुरुषलाई बन्धक बनाई ७ लाख रुपैयाँ फिरौती माग गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दाङको बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम विक, ३५ वर्षीय मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठानको गौमुखी गाउँपालिका–७ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा छन् ।

दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख फिरौती माग गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपार्कमा दैलेख जाने गाडी खोजिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी ‘आफन्तको गाडी छ, बुटवल पुल्चोकसम्म आउनु, ड्राइभरलाई तपाईंको नम्बर दिन्छु’ भनी बताएको र केही समयपछि लिलाराम विकसमेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखेर दाङको तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्धार गरी घटनामा संलग्न उनीहरूलाई उनीहरूले प्रयोग गरेका गाडीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर