बेलायतले प्रहरीलाई उपकरण र भौतिक संरचनामा सघाउने, संक्रमणकालीन न्यायमा राजदूतको चासो

संयुक्त अधिराज्य बेलायत सरकारले आफ्नो विदेशी राष्ट्रमंडल र विकास कार्यालय (फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस) अन्तरगत रहेर नेपाल प्रहरीको क्षमता विकासमा सघाउने भएको छ । बेलायत सरकारले सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (आइपीएसएसजे) को दोस्रो चरण स्वीकृत गरेको छ ।

नेपाल प्रहरीलाई धेरै भन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी परियोजना पुनरवलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मक रुपमा लिएको छ । योसँगै अब प्रहरीका लागि परियोजनाको दोस्रो चरणको सहयोगले निरन्तरता पाउने छ ।

बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले बिहीबार गरेको शिष्टाचार भेट परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो । भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको खाणको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजदूत पोलिटलाई धन्यवाद दिए । साथै परियोजनालाई निरन्तरता दिंदै बेलायतको विदेशी राष्ट्रमंडल र विकास कार्यालयले सन् २०२१ को अक्टोबरमै आइपीएसएसजेको दोस्रो चरण कार्यक्रम स्वीकृत गरिसकेको छ । यही सन्दर्भमा नेपाल र बेलायतबिच सहयोगलाई कार्यान्वयन गर्न एमओयु हस्ताक्षर गर्ने सम्बन्धमा भेटघाटमा छलफल भएको थियो।

मन्त्री खाणले परियोजनाले पहिलो फेजमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैंगिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो व्यक्त गरेकी थिइन । मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका थिए । उनले नेत्रविक्रम चन्द विप्लव, जनमत पार्टी र थारु कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेका बताएका थिए ।

सरकारले दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलहरूसँग सहमति गरेको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको मन्त्री खाणले राजदूत पोलिटलाई जानकारी गराएका थिए ।

नेपालको संक्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगको लागि मन्त्री खाणले बेलायती राजदूतलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर