विश्वप्रकाश शर्मा भन्छन् : झापा–१ बाहेक अन्तबाट चुनाव लड्दिनँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।

काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला मंगलबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।”

तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताए । चुनाव जित्ने दाबी गरेका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाबकिताब गरेर मात्रै उम्मेदवार बन्ने बताए । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गरे ।

उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।”

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर