गठबन्धन सरकारले चुच्चे नक्सा गायब गर्‍याे : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनका कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए । उनले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

उनले गठबन्धन सरकारले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जोकोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे । उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हित, स्वाभिमानविपरीत रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए ।

उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरू गरिरहेको भन्दै निन्दा र भर्त्सना गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताउ ।

उनले रणनीतिक महत्तवका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे । उनले चुच्चे नक्सा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताए । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर