तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।

उहाँले दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए । उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार ४ दिने नेपाल भ्रमणमा आउँदैछन् ।

ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए । नेता बस्नेतले त्यहाँका स्थानीयहरूले झिटिकुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए ।

उनले साना, मझौला र ठूला व्यावसायीहरूलाई हुने गरेर सरकारले नाकाको व्यापार व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको बताए । उनले व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए ।

ज्ञापनपत्र बुझाएपछि हिमालपारि व्यपार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरूले मृत्यु रोजेको उल्लेख गर्दै सरकारलाई चाँडोभन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले नाकामा राम्रोसँग कोभिड–१९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे । नाका सञ्चालन हुन नसक्दा व्यवसायीहरू नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरूले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

अध्यक्ष बस्नेतले व्यावसायीहरू आफ्नो लगानी डुब्ने अवस्थामा रहेकाले चिन्तित भएको भन्दै नाका सञ्चालनबारे पहल गरिदन आग्रह गरे । पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटासम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो उनले गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *