पाँचदलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नै छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हु्न् ।

उनले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गरे । उनले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरूको आवश्यकता नरहेको जिकिर गरे । उनले जति धेरै राजनीतिक दलहरू भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरूको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताए ।

महासचिव पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढिरहेको आरोप लगाए । उनले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि आह्वान गरे । उनले ५ दलीय गठबन्धनसँग आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामाथ्र्य नभएको बताए ।

महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले नेकपा एमालेको विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गरे ।

महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्ने कुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताए । महासचिव पोखरेलले नेपाली कांग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमूलक पात्र भएको आरोप लगाए । उनले नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर