मन्त्रिपरिषद् : व्याकुल माइलालाई मासिक ५० हजार, सत्यमोहन जोशीको हेरचाहका लागि एक जना नर्स

सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नर्णय गरेको छ ।

असोज ७ गते बसेको मन्त्रपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले सरकारले संस्कतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै सरकारले थर्ड मिनिस्टेरियल कन्फ्रेन्सन रिजनल इकोनोमिक कोअप्रेशन एण्ड इन्ट्रिगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिने, राष्ट्रिय सतर्कता केन्द्र सतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको आटवामा असोज १९ गतेदेखि २० गतेसम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृति दिने, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष ०७९÷०८० का लागि राजपत्राङ्कित स्तरका पदको स्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले प्राइभेट फर्म रजिस्ट्रेशन चौथो संशोधन नियमावली २०७९ लाई स्वीकृत गर्ने, दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाढ गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रसारण लाइनको आरओडब्ल्यू र टावर ब्यांक संरचनाहरू निर्माण गर्नका लागि सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाका वडा नम्बर ३,४,५, ६ र ११ मा रहेको राष्ट्रिय वनभित्रको ५.८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, विभिन्न स्थानीय तहहरूलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको बताए ।

उनले सरकारले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष ०७९/०८० को लागि अधिकृत स्तरका कर्मचारीहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्युनीकरण गरी नागरिकको आगमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता सवारीको गति, टाइम कार्डको अवलम्बनलगायतका विषयमा अनुगमन, नियमन, सुरपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर