शेखर पक्षका नेताहरू भन्छन्- ‘कांग्रेसभित्र राजा जन्मियाे’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए ।

उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे ।

कांग्रेस नेता खेमराज केसीले समानुपातिकतर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझै पनि सूची संशोधन गरी समान रूपमा टिकट वितरण गर्नसके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको बताए ।

उनले पार्टीमा नातागाता र आफन्तवादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको बताए । नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए ।

नेपाली कांग्रेसका नेता धर्म परियारले नेपाली कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताए । उनले नेपाली कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझै पनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे ।

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाए ।

उनले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चिन सक्ने बताए । उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाए । उनले यसरी पार्टीभित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैरजिम्मेवारी भएको बताए ।

उनले पार्टीमा योगदान, क्षमता, लोकप्रियताको कदर नभए विद्रोहको विकल्प नभएको बताए । उनले पार्टीभित्रै निरंकुश र सामन्ती व्यवहार भएकाले आफूहरूले विरोध गर्नुपरेको बताए । उनले संस्थापन पक्षले नेकपा माओवादीलगायतका गठबन्धनका दलहरूसँग मिलेर आफ्नो पार्टीभित्रका नेताहरूलाई किनारा लगाई राजनीतिक हत्या गर्ने प्रपञ्च गरेको आरोप लगाए । उनले सिट जित्नका लागि र सरकारमा पुग्नका लागि मात्रै प्राविधिक गठबन्धन हुनुले आगामी निर्वाचनमा राम्रो नतिजा नल्याउने बताए ।

त्यस्तै कांग्रेस नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताए । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभई जनताको जीवन बदल्ने माध्यम भएको बताए । उनले पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको उल्लेख गर्दै अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिए ।

त्यस्तै कांग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिकतर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरू पनि विरोधमा गएको दाबी गरे । उनले समानुपातिकतर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताए । उनले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्ने बताए । नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्षतर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके विरोध थप चर्किने बताए ।

बिहीबार काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैं, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरू उपस्थित थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर