बेलायतमा सम्पन्न ‘क्याम्ब्रियन पट्राेल’मा नेपाली सेनालाई रजत पदक

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पट्राेल अभ्यास, २०२२’मा नेपाली सेनाको टोलीले रजत पदक प्राप्त गर्न सफल भएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी बलबहादुर आलेको नेतृत्वमा १० जनाको सैनिक टोली असोज ४ गते मित्रराष्ट्र बेलायततर्फ प्रस्थान गरेको थियो ।

युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबवधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूको दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

उक्त अभ्यासमा बेलायती फौजका ८४ र नेपालसमेत अन्य २४ देशका गरी कुल १११ सैन्य टोलीहरूको सहभागिता रहेको थियो ।

बेलायतमा सञ्चालन हुने सैनिक प्रतियोगिता क्याम्ब्रियन पट्राेलमा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टिम सहभागी हुने गर्दछ ।

सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको क्याम्ब्रियन पट्राेल अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१६ बाट भाग लिँदै आइरहेको छ ।

विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न नेपाली सेना सफल भइरहेको परिप्रेक्ष्यमा यसप्रकारको अत्यन्त व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्नसक्ने अभ्यासमा सहभागी हुन सुरु गरेको केही वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै आइरहेको र सोही क्रममा यस वर्ष रजत पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च हुनुका साथै बेलायतलगायत अन्य सहभागी सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *