उम्मेदवारले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न पाउँदैनन् : आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए ।

घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिताविपरीत हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउने गरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे ।

उनले उम्मेदवारहरूले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न नपाउने उल्लेख गरे । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्रअनुरूप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरू दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनी प्रचार गर्न नपाइने उनले बताए ।

आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए ।

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौं उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर