बैंकको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटलहरू बन्द गर्ने संघकाे चेतावनी

होटल संघ नेपाल (हान) ले बैंकको सावाँ ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।

होटलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावाँ ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावाँ ब्याज पुनःतालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ ब्याज पुनःतालिकीकरण गर्नुपर्ने बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सोमबार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरूलाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए ।

उनले सरकारले कोभिडको मारका कारण अतिप्रभावित उद्योगका रूपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए । उपाध्यक्ष साहले विगतको भन्दा होटलहरू सामान्य सुधार भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए ।

उनले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ ब्याज तिर्न दबाब दिइरहेको बताए । उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरूले असोज मसान्तमा तिर्न सक्दैनौं भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिए । उनले होटलहरूलाई तिर्नुपर्ने सावाँ ब्याज तिर्दै नतिर्ने व्यवसायीहरूले नभनेको भन्दै बैंकहरूलाई सावाँ ब्याज तिर्ने तर समय दिनुपर्ने बताए ।

उनले अहिलेको परिस्थितिमा होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम रहेको बताए । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए ।

साहले कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया–युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रूपमा फैलिरहेको डेंगुको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको बताए ।

उनले अहिले पर्यटक बढी आउने सिजनमा आसन्न निर्वाचनले समेत प्रत्यक्ष रूपमा पर्यटन आगमन र गतिविधिलाई कम गर्ने बताए । उनले अहिले बढ्दो ब्याजदरले होटल उद्योग धान्नै नसकिने भएकाले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर