कर्णाली प्रदेशमा देखिएको हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ ।

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी सो माग गरेको हो ।

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरूसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो । केही दिनअघिको वर्षातका कारण सडक बाटोको सञ्जाल, विद्युत् र टोलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद भएको अवस्थामा छ ।

पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका बेला हवाई सेवासमेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नुपरेको गुनासो गरे । उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको बताए ।

यता मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुनेगरी दुईवटा विमान खरिद गर्ने योजना अघि सारिएको जवाफ दिएका थिए भने निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूलाई बोलाएर सो क्षेत्रमा उडान सेवा नियमित गर्न निर्देशन दिने आश्वासनसमेत दिएका थिए ।

पूर्वमन्त्री भण्डारीले भने निजी क्षेत्रको अपारदर्शी हवाई उडानका लागि त्यहाँका जनताले ठूलो सास्ती भोग्नु परेकाले सो समस्या पनि समाधानका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको बताए । यसअघि गृह मन्त्रालयले पनि केही दिनअघि आएको वर्षातका कारण अवरुद्ध सडक सञ्जाल, विद्युत् र टेलिफोन सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर