सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारका लागि गरिने खर्चको अनुगमन हुने

निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘मेटा इन्टिग्रिटी समिट’लाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् । उनले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी, आवश्यक र मर्यादित बनाउनका लागि मेटासँग सहकार्य गरिएको स्पष्ट पारे ।

उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको स्वच्छतालाई प्रभाव पार्न नदिइने उल्लेख गरे । सामाजिक सञ्जालमा निर्वाचन केन्द्रित मिथ्या तथा भ्रमपूर्ण सामग्री प्रसारण हुन नदिनका लागि मेटासँग सहकार्य गरिएको उल्लेख गर्दै यसलाई आयोगले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोज्यो भन्ने ढंगले नबुझ्न पनि आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा गर्ने खर्चको पनि आयोगले निगरानी तथा अनुगमन गर्ने र सीमा उल्लंघन भएको पाए कारबाही गर्ने स्पष्ट पारे । उनले उम्मेदवारहरूले निर्वाचन खर्च विवरण नबुझाउने र बुझाए पनि एकातर्फ भएको खर्च अर्कोतर्फ देखाउने गरेको प्रसंग उल्लेख गर्दै आयोगले त्यस्ता कामलाई नियन्त्रण गर्ने बताए ।

निर्वाचनमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कुराहरू सँगसँगै आउन नहुने भन्दै उनले स्वच्छ, स्वतन्त्र, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने काममा आयोगले सबैको सहयोगको अपेक्षा राखेको बताए ।

निर्वाचन पैसाले नभई निष्ठाले जित्नुपर्छ भन्ने मान्यता निर्वाचन आयोगको रहेको भन्दै उनले निर्वाचनको निष्ठालाई प्रवर्द्धन गर्न आयोग सधैँ लागिरहने पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर