विवेकशील साझा सकिएको छैन : समीक्षा बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।

उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभई अनुभव बटुल्दै अघि बढिरहेको बताइन् । उनले विवेकशील साझाले गर्न चाहेको राजनीति मंसिर ४ पछि सकिने खालको नभई देशको विकास र स्थिरताको लागि भएको जिकिर गरिन् ।

अध्यक्ष बास्कोटाले अहिलेका स्वतन्त्र उम्मेदवारहरु विवेकशील साझाले वि.सं. २०७४ सालमा रोपेको फल भएको बताइन् । उनले देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन् ।

पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बाः प्रविधि, जलविद्युत, कृषि र पर्यटनको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, सरकारी वेतनधारीहरुको दलीय पेशागत संगठन खारेज गर्ने, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनैतिक भर्तिकेन्द्रमा सिमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरुमा नियुक्तिका लागि ४५ वर्षे उमेरहद घटाएर युवामैत्री बनाउने, वातावरण तथा सम्पदा संरक्षण गर्नेलगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर