निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित निर्वाचनका लागि सबै प्रबन्ध भइसक्यो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिबद्ध भई काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् ।

बुधबार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरूको ठूलो संख्या रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल संवत धर्म संस्कृति, इतिहास, परम्परासँग अभिन्न रूपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल संवको संस्कृति र महत्त्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात गरी अघि बढ्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिकमा माल्यार्पण गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *