‘उम्मेदवारको चुनिन पाउने अधिकार हनन हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्न पाइँदैन’

निर्वाचन आयोगले उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समूह नै बनाएर आगामी प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको चुनिन पाउने अधिकार नै हनन हुने खालका सामग्रीहरू पोष्ट गरिरहेको भन्दै आयोगले सो आग्रह गरेको हो । कसैप्रति लाञ्छना लगाउने, दूराग्रहपूर्ण अभिव्यक्ति दिने अथवा निर्वाचनमा उठेका उम्मेदवारहरूको चुनिने अधिकारमाथि नै हनन हुनेगरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

शुक्रबार न्यूज ऐजन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उम्मेदवारहरूलाई चुनिन पाउने अधिकारबाट बञ्चित गराउन नहुने स्पष्ट पारेका हुन् । आम मतदातालाई चुन्ने अधिकार भएजस्तै उम्मेदवारलाई चुनिन पाउने अधिकार हुने भएकाले त्यसलाई हनन गर्न नमिल्ने उनको भनाइ छ ।

आयोगले उम्मेदवारहरूमाथि गालीगलौज नगर्न, चरित्र हत्या गर्ने, अवहेलना गर्नेलगायतका अभिव्यक्ति नदिन पनि सम्बन्धित सबै पक्षलाई पुनः निर्देशन गरेको छ । आयोगका प्रवक्ता पौडेलले छद्म नामबाट कसैले पनि उम्मेदवारहरूको चरित्र हत्या गर्न नपाउने बताए ।

उनले सीमाभित्र बसेर मात्रै निर्वाचनमा खर्च गर्न पनि उम्मेदवारहरूलाई भनिएको बताए । सम्बन्धित टेक कम्पनीहरूसँग सम्पर्कमै रहेकाले उनीहरूले सामाजिक सञ्जालमा गरेको खर्चको विवरणसमेत लिइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता जारी गरेको उल्लेख गर्दै त्यसको अक्षरशः पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर