सत्यमोहन जोशीलाई सम्झिँदै देउवाले भने- ‘उहाँबाट सिकेर देश विकासमा लागिपर्छु’

प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले जोशीले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदान र लेखेका कृतिको संरक्षण र संवर्द्धन गर्दै मुलुकको विकास गर्नसके जोशीको साँचो अर्थमा कदर हुने पनि बताए । स्वर्गीय जोशीको १३औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताए ।

प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए । जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रूपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उनलाई शताब्दी पुरुषको रूपमा सम्मान गरेको स्मरण गराए ।

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै जोशीले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यावहारिक रूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *