राजु गुरुङ भन्छन्, ‘सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो’

सत्तारूढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । शनिबार रूपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी का राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर, चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए । उनले साझा उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउन पनि मतदाताहरूसँग आग्रह गरे ।

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए । उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको बताए । उनले आगामी निर्वाचनमा केशवबहादुर थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने बताए ।

उनले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए । उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए ।

उनले कर्जा सूचना केन्द्रको ब्ल्याकलिस्टमा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए । नेता गुरुङले गत असोज २३ गते नेकपा (एकीकृत समाजवादी) बाट गठबन्धनको साझा उम्मेदवारको रूपमा रूपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *