सत्ता गठबन्धनले दुई तिहाइ ल्याउँछ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–४ मा मंगलबार लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मङ्सिर ४ गतेपछि लोकतान्त्रिक वाम गठबन्धनको सरकार निर्माण हुने बताए ।

“सडकमा हिँडेर, घरमा सुतेर, नेतालाई फोन गरेर भोट आउँदैन”, उनले भने, “जनताका घरघरमा गएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नुस् ।”

उनले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने बताए । विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएकाले झण्डै दुई तिहाइ सिट ल्याए जस्तै मङ्सिर ४ गते हुने निर्वाचनबाट सत्तारूढ गठबन्धनले दुई तिहाइ सिट ल्याउने मन्त्री कार्कीले दाबी गरे ।

मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफूले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्ता लाइ आग्रह पनि गरे । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नं ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएका पनि स्पष्ट पारे ।

गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उनको दाबी थियो । उनले गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर