सकियो सन्दीपको बयान, कसैको उक्साहटमा फसाइएको सन्दीपको दाबी

क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्र दर्तापछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधबारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए ।

उनले आज नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको बताए । उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियतपूर्ण तवरले कसैको उक्साहटमा अभियोग लगाएको बताए । उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए ।

उनले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए । उनले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे ।

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *