निर्वाचन विथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विथोल्ने खालका कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरूले निर्वाचन विथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन विथोल्ने खालका कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताए । उनले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र सोहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘जुन राजनीतिक समूहले जे भनेको छ, त्यो विषयलाई लिएर हुने दंगाहरूको सम्बन्धलाई गम्भीर रूपमा लिएर छलफलमा बसेका पनि छौं । तदनुसार नै सुरक्षा योजनाको पुनरवलोकन गर्छौं । र, तदनुसार नै कार्यान्वयन हुन्छ । मलाई लाग्दछ– यो निर्वाचन विथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन । यसमा हामी सचेत छौं ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *