गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन् ।

बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष दाहालले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका हुन् ।

उनले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्ने बताए । उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गरे ।

उनले चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन उनको आग्रह छ । उनले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताए ।

अध्यक्ष दाहालले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे । उनले आफू गोरखामा चुनाव लड्न आउनु गोरखाबासीका लागि चुनौती भएको पनि बताए । आफू कहाँ जान्छ, कहाँ बस्छ भन्ने कुरा माइक्रोस्कोपबाट हेरिने गरेको भन्दै सो कुरा गोरखाबासीका लागि चुनौती भएको उनको भनाइ छ ।

उनले मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषय उल्लेख गर्दै आफ्नो बाजा बजाउने योजना नभएको बताए । बाजा बजाउने निर्णय आफ्नो नभएकाले बाजा बज्दैछ भन्ने पनि थाहा नपाएको उनको भनाइ छ ।

अध्यक्ष दाहालले राष्ट्रिय एकताको सन्देश दिनका लागि आफू गोरखामा गएर चुनाव लडेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर