नवलपुर-१ बाट चौथो जितको दौडमा शशांक, गठबन्धनले झनै सहज

राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला चौथोपटक निर्वाचनमा होमिएका छन् । कोइराला यस क्षेत्रबाट संविधान सभा निर्वाचन २०६४, २०७० र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार भएका डा. कोइरालाको प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ । सत्ता गठबन्धनमा आबद्ध अन्य दलको समर्थनले कोइरालालाई सयपटक चुनाव जित्न थप सहज हुुने देखिएको छ ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं रहेका थिए । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बने । कोइराला विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई जित निकाल्न सहज देखिन्छ ।

कांग्रेस महामन्त्रीसमेत रहिसकेका कोइराला १५ वर्षसम्म संसद्मा रहँदा उनले थुप्रै विकासका काम गरेका छन् । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला पनि जित निकालेका कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउँछन् ।

नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा बौदीकालीका छ, बुलिङटारका छ, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन् ।

नवलपुरको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

नवलपुर–१ मा प्रतिनिधि सभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर