लुम्बिनीलाई ६ विकेटले हराउँदै पुलिस प्रधानमन्त्री कप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । यस जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

१ सय ८९ रनको समान्य लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । पुलिसका लागि ओपनर सुनील धमला र कुशल भुर्तेलले राम्रो शुरुवात गरेका थिए । सुनील धमलाले ३६ रनको पारी खेल्दा कुशल भुर्तेलले ३२ रनको योगदान गरेका थिए ।

यस्तै अमित श्रेष्ठले २८ रनको पारी खेल्दै गर्दा अनिल खरेलको बलमा एलडब्लूको धरापमा पर्दै पवेलियन फर्किए भने कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४३ रनको योगदान गरे भने दिलीप नाथ ६ रनमा नट आउट रहे । आरिफ शेख ३५ रनमा पवेलियन फर्किएका थिए । बलिङतर्फ अनिल खरेलले सर्वाधिक २ विकेट हात पार्दा दुर्गेश थापा र मोहम्मद हुसेनले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन जोडेको थियो । ओपनर तथा कप्तान देव खनालले अर्धशतकीय पारी खेले । ८८ बलको सामना गरेका खनालले ७ चौका र २ छक्का हिर्काएका थिए । अर्का ओपनर आकाश त्रिपाठी शून्यमा पवेलिनमा फर्किएको खेलमा प्रज्वल थापाले २३, विशालविक्रम केसीले ३०, दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन् ।

लुम्बिनीको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हिात पारे । यस्तै करण केसी र सागर ढकालले समान २ विकेट लिँदा गुल्सन झा र ललित राजबंसीले समान १ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै पुलिसले ३ खेलबाट स्पष्ट अंक जोडेर तालिकामा ६ अंक बनाएको छ । पुलिस समूह बी को शीर्ष स्थानमा यथावत छ । पराजित लुम्बिनीको २ अंक रहेको छ ।

एकदिवसीय क्रिकेट अन्तगर्त बिहीबारकै अर्को खेलमा मधेस प्रदेशले प्रदेश १, लाई ७२ रनले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १, ४३.१ ओभरमा समेटिएको थियो । प्रदेश १ ले सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो । प्रदेश १ लागि लुभ कमातले सर्वाधिक २९ रनको पारी खेल्दा विवेक आनन्द मेहेताले २५, फिर्दोस अनसारीले २२, मनिस थापाले १२, सोनु मण्डलले ११, सोनु अनसारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा मधेसका रुपेश सिंह, प्रदीप पासवान, विशाल सुस्लिङ, मोहम्मद आदिल अलामले समान २/२ विकेट लिए भने राजेश यादवले १ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । मधेसका अनिल शाहले अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

मधेसको सबै विकेट लिने क्रममा प्रदेश १ का फिर्दोस अनसारीले सर्वाधिक ५ विकेट निकाले । ९.१ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए । यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १/१ विकेट लिए ।

प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा हुने खेलमा कर्णाली र एपिएफ तथा मुलपानी मैदानमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *