सन्दीप लामिछानेलाई थुनामा राख्न आदेश, केन्द्रीय कारागार चलान गरिँदै

काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। अदालतको आदेशपछि सन्दीपलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। जसमा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर