पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन्।

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–क्वालालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन्।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरू कसैलाई दिने अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे। यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनको भनाइ छ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए। विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने र देश विदेशमा प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए।

बिहीबारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान सुरु गरेको छ। पहिलो उडानमा १३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन्।

हालका लागि भैरहवाबाट नियमित चार्टड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर