सदावहार प्रतिद्वन्द्वी इजरायल र लेबनानबीच कसरी सम्भव भयो सामुद्रिक सम्झौता ?

इजरायल र लेबनानबीच गत ११ अक्टोबरमा दुवै देशको क्षेत्रीय समुद्र र विशेष आर्थिक क्षेत्र (ईईजेड)को सीमा निर्धारणको विषयमा ऐतिहासिक सम्झौता भएको छ । सम्झौता धेरै कारणले महत्त्वपूर्ण थियो ।

पहिलो त, यो ती देशहरूबीचको सामुद्रिक सीमा सम्झौता थियो, जसको कुनै कूटनीतिक सम्बन्ध स्थापना भएको थिएन । इजरायल र लेबनान करिब ७५ वर्षदेखि युद्धरत थिए । दुवै देशबीच भूमि सीमाको सीमांकनबारे भने अझै विवाद छ, अस्थायी रेखा (ब्लु लाइन) को निगरानी संयुक्त राष्ट्रसंघले गर्नेछ ।

दोस्रो, यो पूर्वी भूमध्य सागरमा रहेका राज्यहरुबीच भएको पहिलो सामुद्रिक सीमा सम्झौता हो । पहिले विभिन्न क्षेत्रहरुबीच मात्र सम्झौता भएको थियो । तेस्रो यो सम्झौतामा मध्यस्थताको रुपमा अमेरिका पनि सहभागी छ । यसमा इजरायल र लेबनानले छुट्टाछुट्टै रूपमा अमेरिकासँग पनि सम्झौता गरेका छन् ।

सामुद्रिक सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । तेल र ग्यासका लागि समृद्ध क्षेत्र मानिने उक्त सामुद्रिक इलाकालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए ।

लेबनान र इजरायलले आफ्नो सामुद्रिक सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका छन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।
इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वीभूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ ।

नेपालका लागि इजरायलका राजदूत हानान गोडेर सम्झौताले छिमेकीसँगको विवादलाई वास्तविक, व्यावहारिक र शान्तिपूर्ण तरिकाले समाधान गर्न इजरायल सधैं तत्पर रहने जनाउने बताउँछन् । इजरायल र लेबनानबीच ५ किलोमिटरको सामुद्रिक सीमा विवादलाई यो सम्झौताले अन्त्य गरेको उनले बताए ।

दुई प्रतिद्वन्द्वी राष्ट्रबीचको यो सम्झौताले पारम्परिक मान्यतालाई बदल्दै मध्यपूर्वको एउटा नयाँ उदाहरण प्रस्तुत गरेको उनले बताए । सीमा क्षेत्रको ग्यास क्षेत्र, आर्थिक क्षेत्रलगायतको निर्धारणले लेबनानको अर्थव्यवस्थामा पनि फाइदा पुग्ने गोडेरको भनाइ छ ।

युक्रेनमाथि रुसको आक्रमणका कारण अहिले तेल र ग्यासको मूल्य बढिरहेको छ । अब यो सम्झौताले त्यहाँ अन्वेषण र ड्रिलिङको ढोको खोलेको छ । यो सम्झौता आर्थिक रुपमा समस्यामा परिरहेको लेबनानको लागि ठूलो राहत बनेको छ । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको लागि एउटा ठूलो क्षेत्रीय जित पनि हो ।
अर्कोतर्फ लेबनानमा रहेको आतंकवादी समूह हिज्बुल्लाहले पनि यो सम्झौतामा सहमति दिएको छ । इरानद्वारा समर्थित भनिएको उक्त समूहको सहमतिको अर्थ हो, उक्त क्षेत्रको हिंसात्मक संकट तत्कालका लागि अन्त्य हुनु ।

अर्कोतर्फ इजरायलले अब युरोपमा ग्यासको कमी कम गर्न पनि मद्दत गर्न सक्ने भएको छ । अहिले युरोपमा ग्यासको संकट गहिरिँदै गएको छ । इजरायलले सम्झौतापछि अब करिस क्षेत्रमा तेल र ग्यास निकाल्न सुरु गर्नसक्ने र केही सातामा युरोपमा निर्यात गर्ने जनाएको छ । लेबनानले भने तीन–चार वर्षपछि मात्र यस्तो ग्यास निर्यात गर्न सक्नेछ ।

‘इजरायल लामो समयदेखि लेबनानसँग सम्झौता गर्न तत्पर थियो । एक जिम्मेवार अन्तर्राष्ट्रिय अभिभावकको रुपमा अमेरिकासँगको साथ र फ्रान्सलगायत अन्य देशको समर्थनमा यो सम्भव भयो,’ राजदूत गोडेरले भने, ‘यो सम्झौता हुनुमा १० वर्ष लागेको छ ।’ इजरायलको इच्छा र अमेरिकाको प्रयासबीच यदि लेबनानले आफ्नो आधारहीन र अपमानजनक मागहरुलाई नरम नगरेको भए यो सम्झौता सम्भव नहुने उनको भनाइ छ । यो सम्झौताले छिमेकीहरुसँग सम्बन्ध बनाउन र दुवै देशका जनताको हितमा काम गर्न इजरायलत तत्पर रहेको बुझाउने गोडेरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर