निर्वाचन परिचालनमा देखिएका समस्या समाधान गर्ने निर्णय

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कांग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको छ ।

बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता तथा कांग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सहसंयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए । उनले स्थानीयदेखि केन्द्रीयस्तरसम्मका पार्टी सदस्यहरूलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमति भएको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझै पनि बागि उम्मेदवारहरू रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताए । त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरू नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताए ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेताहरू अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र)बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर