राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन्।

बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख हुन पुगेको बताएका हुन्।

उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगित निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे। उनले विगतमा गरिएको नीतिगत निर्णयहरू अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका लागि गरिएको स्पष्ट पारे।

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको नीतिले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताए। उनले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितिमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताए।

असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनको भनाइ थियो। गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको बताए। उनले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताए। उनले आर्थिक वर्ष २०७९/०८० को असोजसम्ममा आयत र निर्यात दुवै घटेको बताए। असोजसम्ममा आयात ३५.७ प्रतिशत र निर्यात १६.२ प्रतिशतले घटेको बताए।

गभर्नर अधिकारीले लिक्विटिटीका कारणले कुनै पनि बैंकलाई अफ्ठ्यारोमा पार्ने स्थिति आउन नदिने दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर