आमनिर्वाचन-२०७९

गण्डकीमा अबको मुख्यमन्त्री पाण्डे कि अधिकारी ?

गण्डकी प्रदेशले आगामी निर्वाचनपछि नयाँ मुख्यमन्त्री पाउने भएको छ । यसअघिका मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा निर्वाचनमा लड्दै छन् भने वर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल चुनावी दौडमा नै छैनन् ।

पाँच वर्षअघि प्रदेश सरकार गठन हुँदा एमाले–माओवादी गठबन्धनबाट एमालेका गुरुङ गण्डकीको पहिलो मुख्यमन्त्री बन्न सफल भएका थिए । तर, तत्कालीन नेकपामा विभाजन आएपछि भने गुरुङको पद गयो । त्यसपछि बनेको सत्ता गठबन्धनबाट कांग्रेसले गण्डकीको मुख्यमन्त्रीको भाग पायो । नयाँ मुख्यमन्त्री बने, पोखरेल ।

यसपटक भने गण्डकीमा कांग्रेस र एमालेका गरी दुई उम्मेदवार मुख्यमन्त्रीको प्रतिस्पर्धामा छन् । तर, सत्ता गठबन्धनका उम्मेदवारलाई निर्वाचन जित्न र मुख्यमन्त्री बन्न अझ सहज छ ।

यसपटक कांग्रेसबाट गण्डकीमा मुख्यमन्त्रीका बलियो प्रत्यासी हुन्, सुरेन्द्र पाण्डे । कांग्रेसका उम्मेदवार भए पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि समर्थन गरका छन् ।

गोरखा–२ (२) उम्मेदवार रहेका पाण्डेले यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभाको टिकट पाएका थिए । तर, त्यतिबेला बाबुराम भट्टराईलाई कांग्रेसले सघाउने निर्णय भएपछि उनी पछि हट्नु परेको थियो । यसपटक पनि पाण्डे प्रतिनिधिसभाका लागि दाबेदार थिए । तर, सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड नै चुनाव लड्न आएपछि पाण्डे प्रदेशसभामा ओर्लिएका हुन् ।

पाण्डे यसअघि राष्ट्रिय सभा सदस्यमा कांग्रेसबाट मनोनीत नेता हुन् । राष्ट्रिय सभामा उनी कांग्रेसको संसदीय दलको नेतासमेत थिए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डे पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । कांग्रेसबाटै मुख्यमन्त्रीका अर्का दाबेदारमा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा छन् । उनी समानुपातिकको सूचीमा पहिलो नम्बरमा छन् । यसअघि प्रत्यक्ष निर्वाचनमा कहिल्यै चुनाव नजितेका उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

गण्डकीमा प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छ भने समानुपातिकबाट २४ गरी ६० सदस्यको प्रदेशसभा हुनेछ । सत्ता गठबन्धनबाट कांग्रेसले २१ क्षेत्रमा, माओवादी केन्द्रले १२, नेकपा एस र नेसपाले १÷१ क्षेत्रमा उम्मेदवारी दिएका छन् । मनाङ १ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित भइसकेका छन् । उनलाई गठबन्धनको साथ थियो ।

सत्ता गठबन्धनकै अर्को दल माओवादीबाट मुख्यमन्त्रीको दाबेदार छन्, हरिबहादुर चुमान । उनी तनहुँ–१ (२) बाट प्रदेशसभामा उम्मेदवार छन् । यसअघि गुरुङ नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला मन्त्री थिए ।

एमालेबाट मुख्यमन्त्रीका आकांक्षी छन्, खगराज अधिकारी । पार्टीको संगठन विभाग प्रमुख रहेका उनी आफूलाई भावी मुख्यमन्त्रीको दाबीसहित प्रचारप्रसार गर्दै आएका छन् । यसअघि प्रतिनिधिसभा सदस्य रहेका उनी मुख्यमन्त्री बन्नकै लागि कास्की–१ (१) मा ओर्लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर