खोटाङका सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुगेको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुगेका छन् ।
दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।
मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ । आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मत गणनास्थल तयारीको काम सुरु गरिने जनाइएको छ ।
आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार चार सय ७४ मतदाता थिए । जिल्लामा एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाको लागि निर्वाचन हुँदैछ ।
- ‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
प्रतिक्रिया