बेलायत पठाइदिने भन्दै ११ लाख ठगी गरेको आरोपमा कन्सलटेन्सी सञ्चालक पक्राउ

बेलायत पठाइदिने भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षका तिलकबहादुर बस्नेत छन्। उनी काठमाडौंको पुतलीसडकस्थित रेडजोन फाउण्डेशन कन्सलटेन्सीका सञ्चालक हुन्।

बस्नेतले बेलायत पठाइदिने प्रलोभनमा पारेर पटकपटक गरी पीडितबाट उक्त रकम ठगी गरेको आरोप छ।

अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने प्रलोभन देखाई ठगी गरेको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कन्सलटेन्सीबाटै उनलाई बिहीबार पक्राउ गरेको हो।

उनले उक्त कन्सलटेन्सीसमेत अवैधानिक रूपमा सञ्चालन गरेको खुलेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिनुपर्नेमा अनुमति नै नलिई कन्सलटेन्सी सञ्चालन गरेको पाइएको हो।

पक्राउ परेका उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *