डिल्लीबजारस्थित गोदामबाट १ करोड ५० लाख मूल्यको कपडा चोरेकाे आरोपमा १० जना पक्राउ

१ करोड ५० लाख मूल्य बराबरको कपडा चोरी गरेको आरोपमा एक भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा सञ्चालित गोपाल इन्टरप्राइजेजको गोदामबाट उक्त रकम बराबरको कपडा चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूले मंसिर २ गते साँझ ७ बजे गोदामबाट ती कपडा चोरी गरेको आरोप छ। यसरी कपडा चोर्नेहरू साेही गोदाममा कार्यरतहरू रहेका प्रहरीले जनाएको छ।

प्रहरी वृत्त मालीगाउँको टोलीले अनुसन्धानका विविधि विधि र प्रविधि प्रयोग गरी चोरीमा उनीहरूको संलग्नता रहेको पुष्टि गरेको हो।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं सतुङ्गल बस्ने वर्ष २७ का रामचन्द्र खड्का, सोही गाउँपालिकाको भेड्कु घर भई काठमाडौं नैकाप बस्ने वर्ष २३ का प्रदीप केसी, दोलखको सैलुङ गाउँपालिका–८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने वर्ष २७ का प्रकाश कोइराल, दोलखा मेलुङ् गाउँपालिका–८ घर भई काठमाडौं बागबजार बस्ने वर्ष १९ को पवन बस्नेत, दोलखा मेलुङ गाउँवपलिका–३ घर भई काठमाडौं घट्टेकुलो बस्ने वर्ष २० का दिलीप कार्की छन्।

यस्तै सिन्धुली तीनपाटन घर भइ बौद्ध टुसाल बस्ने वर्ष ४१ का लोकबहादुर तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं मैतीदेवी बस्ने वर्ष २२ का प्रदीप कार्की,सर्लाही हरिवन नगरपालिका–८ घर भई ललितपुर महालक्ष्मी बस्ने वर्ष ३६ का छत्रबहादुर भट्टराई, भारत बिहार रक्सौल घर भई काठमाडौं बस्ने वर्ष २७ का लालबहादुर राम र जिल्ला ओखलढुङ्गा लिखु गाउँपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने वर्ष ३६ का लोकबहादुर नेपाली रहेका छन्।

बरामद कपडा।

उनीहरूका साथबाट प्रहरीले विभिन्न कम्पनीका नेपाली तथा भारतीय पर्दा र सोफा बनाउन प्रयोग हुने अन्जादी ५५ लाख रुपैयाँ मूल्यका कपडाहरू बरामद गरेको छ।

यस्तै पवन बस्नेतको कोठाबाट नगद १ लाख ३० हजार रुपैयाँ बरामद भएको छ।

चोरीमा प्रयोग भएको बा. ०१ ज ५३६७ नम्बरको ट्याक्सी र बा. १९ च ९९४० नम्बरको बोलेरो पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *