विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

विदेशमा आकर्षक तलबसहितको रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा एक जना महिलासमेत छिन्।

अमेरिका तथा पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा रामेछापको रामेछाप नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२, सुविधानगर, तीनकुने बस्ने ३० वर्षीया धनकुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू दुुवै जना ललितपुर सातदोबाटोबाट फरकफरक दिदन पक्राउ परेका हुन्।

योगेशराजले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रुपैयाँ रकम ठगी गरेको आरोप छ। ठगीपछि सम्पर्कविहीन उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

यस्तै धनकुमारीले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि सम्पर्कविहीन उनी आइतबार पक्राउ परेकी हुन्।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *