बैंकहरूको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर घट्दैन : शेखर गाेल्छा

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर नघट्ने बताएको छ । मंगलबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा बैंकको स्प्रेड दर घटाउँदा ब्याजदर वृद्धि रोकिए पनि ब्याजदर नघट्ने दाबी गरेको हो ।

महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ । महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रिय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र गम्भीर संकटमा जाने बताए । उनले अर्थतन्त्रलाई संकटमा जान नदिनको लागि नेपाल राष्ट्र बैंक र सरकारले तरलता बढाएर ब्याजदर घटाउन विषयमा भुमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले चालु कर्जा सम्बन्धी नीति २ वर्षलाई स्थगित गर्न माग गरे ।

उनले मुलुकको अर्थतन्त्र कठिन अवस्थामा रहेको बताए । उनले मौद्रिक नीतिको समीक्षाले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसक्ने बताए । अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या उद्योगी व्यवसायीको मात्रै नभएर सर्वसाधरणदेखि सरकारको विषयसमेत भएको बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याले बजार महँगीले सर्वसाधारणलाई दैनिकी चलाउन समेत कठिन रहेको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्यालाई उद्योगी व्यवसायीको समस्या र ब्याजदरको समस्याको रुपमा मात्रै बुझ्न नहुने बताए । अध्यक्ष गोल्छाले नियामक निकायको अपरिपक्वताले अर्थतन्त्रमा समस्या देखिएको बताए ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको उच्च मागलाई मुलुकको संरचनाले थेग्न नसकेको बताए । उनले कोरोना महामारीपछि कर्जाको माग बढेको तर निक्षेपभन्दा बढी कर्जा प्रवाह हुँदा अर्थतन्त्र समस्या परेको बताए । अध्यक्ष गोल्छाले गत वर्ष बैंकहरुले पाँच महिनामा ४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकाले आयात अत्याधिक बढेको बताए । उनले आयात उच्च रुपमा बढ्दा विदेशी विनिमय सञ्चिति १७ प्रतिशतले घटेको बताए ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा समस्या देखिएपछि एक्कै पटक ब्रेक लगाउँदा अर्थतन्त्र संकटमा देखिएको बताए । उनले पछिल्लो समय महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्रको कारोबार ७० प्रतिशत, दैनिक उपभोग्य सामानको कारोबार १८ प्रतिशतले, विद्युतिय उपकरणको कारोबार ५५ प्रतिशत, अटोमोबाइलको कारोबार ७५ प्रतिशत, बीमा क्षेत्रमा ३० प्रतिशतले, रेष्टुरेन्टको २० प्रतिशत, होटलको अकुपेन्सी ३० प्रतिशत, शेयर बजार ४० प्रतिशत र घर जग्गा कारोबार ४८ प्रतिशतले घटेको बताए ।

महासंघले राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था आएको र मुलक संकटमा जाने अवस्था सिर्जना भएको धारणा राखेको छ । त्यस्तै महासंघले निजी क्षेत्रले आन्दोलन गर्न नचाहेको भन्दै आफ्नो गुनासो सुनुवाई नभए आर्थिक सुधारका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएको छ । महासंघले दिएका सुझाव कार्यान्वयन भएमा ब्याजदर घट्नुका साथै निजी क्षेत्रको आत्मविश्वास बढेर लगानी समेत बढ्ने दाबी महासंघको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *