शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दै हुनुहुन्छ? यी पाँच कुरा ख्याल गर्नुस्

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको प्रणाली विभागले एक शाखारहित बैंकिङमार्फत कारोबार गर्दा हुनसक्ने जोखिमका विषयमा सजगता अपनाउन भनेको हो।

विभागले शाखारहित बैंकिङमार्फत सुरक्षित कारोबारका लागि पाँच बुँदा सझाएको छ।

राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्था नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ।

यी हुन् ख्याल गर्नुपर्ने ५ विषय :

१. बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ।

२. सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्नुपर्दछ।

३. कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रूपमा लिई आफूले गरेको कारोबारबमोजिम भए/नभएको यकिन गर्नुपर्दछ। साथै विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि)मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ।

४. शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए/नभएको बेलाबेलामा बैंक खातामार्फत समेत यकिन गर्नुपर्दछ  व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकिन गर्नुपर्दछ।

५. सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा नेपाल राष्ट्र बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np मार्फत जानकारी गराउनु पर्दछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर