राजस्व कार्यालयको नक्कली कर्मचारी बनेर रकम असुली, ८ जना पक्राउ

आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट गरी ५ लाख रुपैयाँ बढी रकम असुलेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जङ्ग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

उनीहरूले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचयपत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुन्ड्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर