विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय प्रविधि र आविष्कारलाई प्राथमिकता दिन्छाैं : गृहसचिव

सरकारले विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरूलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरूसँग परामर्श सुरु गरेको छ ।

गृह मन्त्रालयले मंगलबार काठमाडौंमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका तथा जोखिम न्यूनीकरणका लागि भएका स्थानीय प्रयास तथा आविष्कारक संघ संस्थासँग परामर्श गरेको हो ।

कार्यक्रममा विभिन्न किसिमका विपद्जन्य घटनाबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय संघ संस्थाहरूले अवलम्बन गरेको स्थानीय प्रविधि तथा आविष्कारका बारेमा छलफल भएको छ । छलफलपछि मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका लागि गरिने सरकारी प्रयासहरूलाई प्रभावकारी बनाउनका लागि उपयोगी हुनसक्ने स्थानीय प्रविधि तथा आविष्कारलाई सरकारी कार्ययोजनामा राख्ने बताएको छ ।

कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले स्थानीय स्तरमा भए गरेका विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासहरूलाई सरकारले प्राथमिकता दिने बताए । विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भए पनि विपद्मैत्री विकास निर्माणसम्बन्धी नीति नियमहरू बन्न नसकेको बताए ।

उनले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले पछिल्ला दिनहरूमा विकास निर्माणका नाममा भइरहेको सडक विस्तारको दीर्घकालीन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने बताए । सडक विस्तार, ढुंगा, गिटी, बालुवाको व्यवसायमा रहेका विद्यमान मापदण्डहरू कार्यान्वयनमा तीनवटै तहका सरकार असफल रहेको स्वीकार उनले गरे ।

कार्यक्रममा एडीपीसीका नेपाल प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणका लागि भए गरेका प्रयासहरू अत्यन्तै प्रभावकारी देखिएकाले त्यस्ता प्रयासहरूलाई सरकारले संरक्षण र प्रवर्द्धन गर्दै अन्यत्र पनि प्रयोग बढाउँदै लैजानुपर्ने बताए । उनले विपद् जोखिम न्यूनीकरणका लागि नेपालले गरेको अभ्यास विश्वका अन्य मुलुकले पनि अनुकरण गर्ने गरेको बताए । उनले २०५३ देखि सुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणाअनुसार विपद् जोखिम न्यूनीकरणमा लागेको बताए ।

कार्यक्रममा गृह मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख एवं सहसचिव प्रदीप कोइरालाले विपद् व्यवस्थापनमा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै सरोकारवालाहरूको सहयोग आवश्यक पर्ने बताए । उनले विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएको बताए ।

गृह मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा गैह्रसरकारी क्षेत्रबाट भएका प्रयास र आविष्कारहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मन्त्रालयले सरकोकारवालाहरूसँग छलफल गरेको बताए । उनले विपद्बाट हुनसक्ने क्षतिको न्यूनीकरण, पूर्वतयारी, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्ने क्रियाकलापहरूमा गैह्रसरकारी संस्थाहरूबाट भएका विपद् जोखिम न्यूनीकरणसम्बन्धी आविष्कारहरूले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न गैह्रसरकारी संस्थाहरूले विपद् जोखिम न्यूनीकरणका लागि गरेको असल अभ्यास र अन्वेषणहरूबाट प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *