अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणिकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेका बताए । उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली कांग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा माग गरेका हुन् ।

उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाए । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफूले सम्झौता गर्दा ठीक र अर्को सरकारले गर्दा बेठीक भनि एमालले द्वैध चरित्र प्रदर्शन गरेको बताए ।

उनले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *