अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भन्दा कर्मचारीले माइक बिगारिदिएपछि…

संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ । मंगलबार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताएका थिए । अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए ।

सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटिहरु गरेको भन्दै उनले घोर आपत्ति जनाए । उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै कहिलेकाहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए । उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो भन्दै प्रश्नसमेत गरे ।

उनले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै प्रश्न गरे । उनले संघीय संसदमा काम गर्ने कर्मचारीले भन्सारको डीजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाए । अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको समेत बताए । उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा,सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिने पनि बताए ।

त्यस्तै संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले अध्ययन बिधाका लागि र क्षमता विकास गर्ने कुरामा संसद सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताए । उनले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भए पनि काम गरेको भन्दै साना कामहरुमा झमेला झिकेर नबस्न आग्रह गरे । उनले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरुले आफ्ना जिम्मेवारी र काम पूर्ण रुपमा गर्न र संसदले गरेका कामहरु कमजोर नदेख्न आग्रह गरे । कर्मचारीहरु कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरुमा भएका गल्तीको जिम्मा आफूले लिने बताए । उनले कर्मचारीहरुले संसदबाट भएका सुधारका कामहरुलाई किन नदेखेको भन्दै प्रश्न गरे । उनले सरकारका पदाधिकारीहरुले लडेर ल्याएको उपलब्धिलाई अण्डर स्टिमेट नगर्न पनि आग्रह गरे ।

महासचिव गौतमले कर्मचारीहरुले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आम नागरिक, सांसद, नेता सबैले त्यसको लाभ लिने भन्दै कर्मचारीहरुको सेवा सुविधामा पनि नतिजामुखी कामले नै विस्तार गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *