कांग्रेस वरिष्ठ नेता पौडेल जापानको राजकीय सम्मानबाट विभूषित

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई बिहीबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरे । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको हो ।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

विभूषितपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताए ।

साथै उनले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *