वृद्धाहरूलाई एक्लो भएको मौकामा फकाउँदै भुल्याउँदै लाखौंका सुनका गहना चोरी

घरमा परिवारका अन्य सदस्य नभएको बेला एक्लै रहेका वृद्धाहरूलाई ललाइफकाइ भुल्याएर लाखौं रुपैयाँ मूल्यका सुनका गहना चोरी गरेको आरोपमा पोखरामा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँ पालिका वडा नं. ६ घर भई कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल ३४ वर्षकी टीका श्रेष्ठ छिन्।

पोखराबजारको विभिन्न स्थानबाट वृद्धा महिलाहरूको घरमा परिवारका अन्य सदस्यहरू नभएको मौका पारी ललाइफकाइ गरी भुल्याएर वृद्धाहरूले घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमका सुनका गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी हुन्। उनले फरकफरक वृद्धाहरूका घरबाट २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको आरोप छ।

यस विषयको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले श्रेष्ठलाई बुधबार चोरी गरेको सुनका गहनासहित पक्राउ गरेको हो।

उनले पोखरा ११ रानीपौवा बस्ने वर्ष ७८ की दुर्गाकुमारी पाध्यको २ लाख ६१ हजार ५८, पोखरा १३ पाटबेंसी बस्ने वर्ष ८३ की रिखीमाया सापकोटाको ३ लाख, पोखरा १२ माटेपानी बस्ने वर्ष ७० की तिलकुमारी थापाको ८ लाख, पोखरा १२ उपकरमार्ग बस्ने वर्ष ९० की शान्ति माया गुरुङको ३ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।

यस्तै पोखरा ११ फूलबारी बस्ने वर्ष ८७ की ठगकुमारी महत क्षेत्रीको १ लाख ५० हजार, पोखरा १५ गलेश्वरमार्ग बस्ने वर्ष ५४ की सीतामाया गिरीको २५ हजार, पोखरा २७ बस्ने वर्ष ६५ की मधुमाया पौडेलको ३ लाख ५७ हजार पोखरा १० मिलनटोल बस्ने वर्ष ८२ की डुमादेवी थापाको लाख ६ लाख ९ हजार रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ परेकी उनीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर