सञ्चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चारमाध्यमहरूलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार द राइजिङ नेपालको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरूले सरकारको स्तुतिगान मात्रै गाउन नहुने बताएका हुन् ।

उनले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रूपमा नलाग्न आग्रह गरे। सरकारी सञ्चारमाध्यमहरूलाई सत्यतथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उनको आग्रह छ ।

उनले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रूपमा स्थापित गराउन अनुरोध गरे । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताए । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरू देखिएको भन्दै उनले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे ।

मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताए । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रूपमा उपयोग गर्ने मुलुकको रूपमा नेपाललाई दक्षिण एशियामा नै चिनाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ ।

उनले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर