विश्वप्रकाश भन्छन्, ‘म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्’

नेपाली कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन् ।

उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरू धेरै रहेकाले मन्त्री बन्न अरूलाई सहयोग गर्ने बताए । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्ने भन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने कुरा आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

उनले कुनै बेला एक्लै दुई तिहाइ ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए । उनले आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरूको आकंक्षा राख्ने नेताहरू उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताए । महामन्त्री शर्माले यतिबेला सरकार कस्तो बन्ने सन्दर्भमा धारणा राख्न लाग्नुपर्ने बेला रहेको पनि बताए ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्त्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए । उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै गठबन्धनलाई सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिन नहुने बताए ।

उनले राष्ट्रपति भवनमा व्यक्ति नभई प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सक्नुपर्ने बताए । महामन्त्री शर्माले कांग्रेसले, गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको बताए ।

महामन्त्री शर्माले राष्ट्रपति पदको चयन गर्दै गर्दा प्रधानमन्त्रीको कुरालाई प्रथम र अन्तिम नमानीकन राष्ट्रपतिको विषयलाई गम्भीरतापूर्वक लिएर संविधानको रक्षा र पालना गर्न आवश्यक रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संविधानलाई उल्लंघन गर्दा सर्वोच्च अदालतबाट आदेश आउनुपरेको भन्दै अब सो स्थिति सिर्जना हुन नदिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर