वामपन्थी सरकार बनाउने कुरा अलमल मात्रै : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासोको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए । अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए ।

उनले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताए । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पारे ।

उनले भने, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्ने कुरा चासोको विषय छ । कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ ।’

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताए । उनले आफूले पाएपछि सबै ठीक नपाए सबै बेठीक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताए । उनले यसको विरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताए ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताए । भ्रष्टीकरणविरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सुदृढीकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताए । उनले नेताहरु राति हुन नपाई मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिए ।

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतीको विषय भएको बताए । उनले गणतन्त्रका विरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिए । उनले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने कुराको खोजी गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोही पनि नेतालाई पार्टीले छुट नदिने बताए । उनले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भए पनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताए ।

उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताए । उनले गठबन्ध्नमा अरु सबै पार्टीले नोक्सानी व्यहोरे पनि कांग्रेसले फाइदा लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर