सरकारमा सहभागी नहुने महामन्त्री थापाको घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् ।

बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् ।

आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उनको भनाइ थियो । महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रूपमा आफूले काम गर्ने पनि स्पष्ट पारे ।

उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए । महामन्त्री थापाले संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने पनि बताए ।

महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको समेत बताए । उनले सरकारको आलोपालोको कुरा र राष्ट्रपतिलगायतका पदहरूको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरूलाई मान्य नहुने पनि स्पष्ट पारे ।

पार्टीको संसदीय दल र पार्टीको सम्बन्धित कमिटीमा निर्णय गरेर मात्रै सरकारको आलोपालो, राष्ट्रपतिलगायतका पदहरूको बाँडफाँटको विषयलाई पारदर्शी ढंगले टुंग्याउनुपर्ने उल्लेख गर्दै महामन्त्री थापाले त्यस्ता निर्णयलाई व्यक्तिगत तवरले अघि बढाए मान्न नसकिने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणासमेत राखे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *