कैलालीमा १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र प्रतिबन्धित जडीबुटीसहित ५ जना पक्राउ

कैलालीमा नक्कली नोट, बाघको हड्डी र प्रतिबन्धित जडीबुडीसहित पाँच जना पक्राउ परेका छन्।

पुस ९ गते दिउँसो धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनको खानतलासी गर्दा नक्कली नेपाली एक हजार दरका ४ थान नोट फेला परेको थियो।

कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार नक्कली नोट कारोबारमा उनीसहित सञ्जाल नै सक्रिय रहेको पाइएपछि अन्य चार जनालाई थप १३८ थान नेपाली एक हजार दरका नक्कली नोटसहित पक्राउ गरिएको हो।

धनगढी उपमहानगरपालीका–१३ राजपुरस्थित एसएस होटलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करनसिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका–१ का ५० वर्षीय मोहनसिंह बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनीहरू बसेको कोठामै बस्ने डोटीको शिखर नगरपालिका–१० का १९ वषीय टेकेन्द्र धामी पनि पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धामी बसेको कोठाको पलङ खटियाको सिरानीमुनि लुकाइराखेको अवस्थामा नेपाली एक हजार दरका १३८ थान (१ लाख ३८ हजार) जम्मा १ लाख ४२ हजार (साउँदसमेतबाट बरामद), सोही खटियाको प्लाइमुनि रहेको बाक्साभित्र जेब्रा झोलामा बाघको अस्थिपञ्जर हड्डीहरू ५ किलो ५३० ग्राम, बैंक तथा आईएमई भौचर तथा चेकहरू, प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको प्रतिबन्धित जडीबुटी वनस्पतिका बोक्राहरू र फलामका टुक्राहरू बरामद भएको छ।

पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर