रहेनन् फुटबल सम्राट पेले

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

‘हामी तपाईंलाई असीम प्रेम गरिरहने छौं,’ पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् ।

उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक खेल जीवनकोे दौरान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए ।

ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएका छन् । फ्रान्सका केलियन एमबाप्पेले उनको विरासतलाई ‘कहिल्यै नबिर्सने’ बताएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ‘लाखौंका लागि प्रेरणा’ भनेका छन् ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका छन् ।

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका पेलेकोस्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्पराअनुसार वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरू फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ ।

पेले तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एकमात्र खेलाडी थिए ।

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए ।

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर, उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगतमा अमरको सूचीमा नाम दर्ज गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर