गोटी चाल्ने होइन, काम गर्ने बाटो समातौं : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा राजस्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजस्व असुली माइनसमा गएको बताए। उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए।

उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुका साथै उद्योगहरू बन्द भइरहेको बताए। अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नयाँ सरकारको विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए। उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रूपमा नयाँ पार्टी र नयाँ सांसदहरूको उदय भएको बताए।

उनले देशको उन्नतिको लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौती आफूहरूका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौती रहेको र मुद्दा मामिलाका समस्या, शान्ति प्रक्रियाको समाधानका चुनौतीलाई समाधान गर्नुपर्ने बताए।

उनले सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभई काम गर्ने बाटो समात्न आग्रह गरे। उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे।

अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर