गैरकानूनी रूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनी रूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भमि आयोग, ताहाचलमा कार्यरत छन्।

पोखरेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानबिन गरेको हो। आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

पोखरेलले कुल ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको आयआर्जन गरेको पाइएको छ। घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, शेयर बिक्री र कृषि आय हिसाब गरिएको छ।

सोही अवधिमा पोखरेलले ४ करोड ३७ लाख ८८ हजार चार सय दुई रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ। आम्दानी र खर्च तथा लगानीमा १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।

आयोगले गैरकानुनी रूपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ।

न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ। आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसारको सम्पत्ति जफत र जरिवानाको समेत मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर